फिल्म। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’ले बक्सअफिसमा राम्रो सुरुवात गरिरहेको छ। पहिलो विकेन्डमा फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ। विकेन्डसँगै आइतबार परेको विदाको सदुपयोगिता उठाउन सफल रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ ले शुक्रबारै मध्यम व्यापार गरेर राम्रो संकेत दिएको थियो ।
प्रिमियर र शुक्रबार प्राप्त सकारात्मक प्रतिक्रियाले शनिबार बिहानी शोजमा ५० प्रतिशत आसपासको अकुपेन्सी पाएको सिनेमा दिउँसोदेखि बेलुकासम्म हाउसफुल रह्यो । शनिबार क्युएफएक्सले १०, एफक्युबले ३, बिएसआर मुभिजले २, वान सिनेमाजले २ र सिनेप्लेक्स मुभिजले १ शो थप गरेका थिए ।शनिबार र आइतबारको व्यापार उत्साहजनक रहेको वितरक गोविन्द शाहीले जानकारी दिए।
पारिवारिक कथा पस्किने फिल्मलाई दर्शकले रुचाएका छन् । हलमा सपरिवार सिनेमा हेर्नेको चाप देखिएको छ । विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।
उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । —