फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न दोस्रो हप्ताको शनिवार पनि दर्शक उर्लिएका छन् । शनिवार दिनभर काठमाडौँ उपत्यकामा रहेका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षत्कार गरेपछि निर्देशक मिलन चाम्सले दिनानुदिन शो सङ्ख्यासँगै दर्शक पनि बढिरहेको बताए ।
बालाजु बाइपासमा रहेको अष्टनारायण पिक्चर्स पुग्दा निर्देशक चाम्स, अभिनेत्री सिर्जना सुब्बा, निर्माता प्रेम कुमार श्रेष्ठ र विनोद अग्रवाल, लेखक प्रदीप भारद्वाज, वितरक करण श्रेष्ठलाई भिडबाट निस्किन हम्मे हम्मे परेको थियो । दर्शकले आफ्नै कथा भनेर फिल्मको तारिफ गरिरहेका थिए । फिल्म हेर्न परिवार नै हलमा देख्दा निर्देशक चाम्स दंग थिए ।
‘यो माया र विश्वासले उर्जा थपेको छ । फिल्म हेर्ने ८३ वर्षसम्मको आमा देखेको छु । उहाँहरू फिल्म हेरेर निस्किदा खुसी भएको देख्दा सन्तुष्टी मिलेको छ, दर्शक हलसम्म ल्याउएर खुसी बनाएर फिर्ता पठाउन पाउँदाको क्षणलाई शब्दमा व्यक्त गर्न सक्दिन्’, उनले भने ।
बेलायतबाट नेपाल आएदेखि हलमा पुगेर दर्शक भेटिरहेकी अभिनेत्री सुब्बाले आफूले छुटै भावना संगालेको बताइन । उनले भनिन्,’म बेलायतमा बस्न नसकेर नै नेपाल आएकी हुँ, फिल्म चलिरहदा एउटा कलाकार दर्शकसँग टाढा रहन कठिन हुने रैछ । मलाई धेरै दर्शकले धन्यवाद पनि दिनुभएको छ, पात्रलाई जीवन्त बनाउन गरेको मेहनतको फल दर्शकबाट पाउँदा म खुसी छु ।’
फिल्मलाई प्राप्त शो सङ्ख्या र यसले गरिरहेको व्यापार दोस्रो साता बढी रहेको वितरक श्रेष्ठले बताए । टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा पनि ‘अञ्जिला’को प्रशंसा भइरहेको छ, जसले लोकप्रियतालाई बढाइरहेको छ । शीर्ष भूमिकामा कप्तान सुब्बा आफैले अभिनय गरेकी छिन् ।
फिल्ममा कप्तान सुब्बासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।
उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्म निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।










