फिल्म । साढे सातवर्षपछि प्रदर्शन हुन् लागेको नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिजको पूर्व सन्ध्यामा यसको महत्वपूर्ण पात्र भष्मे डनले दर्शकलाई चिठ्ठी लेखेका छन् । उनले साढेसात वर्षपछि दर्शकसँग भेट्ने कुराले उत्साहित रहेको उल्लेख गरेका छन् । ‘नेपाली दाजुभाई स्वदेश वा विदेश जहाँ हुनुहुन्छ, मसँग भेट गर्न सक्नु हुनेछ । अब कहिले भेट हुन्छ थाहा छैन, यो दसैँको माहोलमा शुभकामना लिउँ र दिउँ’, भष्मेले उल्लेख गरेका छन् । उक्त भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् ।
फूलपाती अर्थात् शनिवारदेखि प्रदर्शन हुने फिल्मले दसैँको लाभ उठाउने देखिएको छ । मल्टिप्लेक्सले खुलाएको अधिकांस सोमा दर्शकको चाँप देखिएको छ । टिकट अग्रिम बिक्रि भएको छ । मल्टीप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई आफ्नो देशभरको स्टेशनमा ६३ शो बाँडेको छ । क्यूएफएक्समा बुकिङ खुलेसँगै टिकट आक्रामक रुपमा बिक्री भैरहेको छ ।
फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।
वितरक करण श्रेष्ठले सिनेमाले दुई करोड भन्दा बढीको व्यापार पहिलो दिनमा गर्ने बताए । उनले भने,‘अहिले टिकट बिक्री भईरहेको आधारमा दुई करोड माथिको व्यापार पहिलो दिनमा गर्नेमा विश्वस्त छौँ । यद्यपि तथ्याङ्क भने शनिवार नै भन्न सकिन्छ ।’












