फिल्म । चलचित्र ‘काँडेतार’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट प्यारेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र पाएको छ । विवादित दुई महत्वपूर्ण दृश्यलाई हटाईएपछि जाँच समितिले चलचित्रलाई १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी प्रमाणपत्र दिएको हो । प्रदर्शन गर्ने अनुमति पाएपछि चलचित्रका निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले मिति छिटै तय गरिने जानकारी दिनुभयो ।
“जाँचपास हुने भएकोले प्रदर्शन तय गरेका थियानौं । तर अब छिटै घोषणा गर्ने छौँ । यो चलचित्रले यथार्थतालाई पर्दामा प्रस्तुत गरेको छ”,निर्देशक खड्काले भन्नुभयो,’हाम्रो देशको समस्यालाई हामीले चलचित्रमार्फत उठाउने कोसिश गरेका हौँ । चलचित्र मनोरञ्जन मात्र नभई समाजको ऐना समेत हो ।’
निर्देशक खड्काकै यसअघिका चलचित्रहरू भीमदत्त, दशगजा र आवाज लगायतले समेत जाँचपासको समयमा यस्तै परिस्थितिको सामना गरेको थियो ।
‘म मनोरञ्जनका निमित मात्र चलचित्र तयार गर्दिन । त्यसैले समस्याको पनि सामना गर्नु परेको छ’,निर्देशक खड्काले भन्नुभयो । शिवम् अधिकारी र नवल खड्काको संयुक्त लेखन रहेको यो चलचित्रले नेपाल र भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाएर आवागमनलाई व्यवस्थित गराउनुपर्ने, भारतीय मिचाहा प्रवृत्तिको प्रतिरोध गर्नुपर्ने विषय उठाएको छ ।
चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवि शाहलगायतले अभिनय गर्नुभएको छ ।











