‘अन्तर्राष्ट्रियबजारलाई सोचेर प्रदर्शन तय गरे हामीलाई सहज हुन्छ’ : वितरक थापा

फिल्म । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले विदेशमासमेत प्रदर्शनको अवसर पाउन थालेका छन् । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बढिरहेको छ ।

कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् । दर्शकले व्यक्तिगतरूपमा चलचित्र भवन भाडामा लिएर प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएपछि दर्शक बढिरहेका छन् । यद्यपि भएको बजारलाई बलियो बनाउन र विस्तारलाई प्रतोत्सहन गर्न नेपालमा प्रतिष्ठित समूहले निर्माण गर्ने चलचित्रको प्रदर्शन मिति नजिक हुँदा अन्तर्राष्ट्रिय बजारलाई असर पार्ने वितरक छत्र थापाले बताए । अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार आफ्नो कम्पनि एमएसएम इन्टरटेनमेन्टमार्फत खरिद गरिरहेका वितरक थापाले भइरहेको बजार बलियो बनाउन सहकार्य आवश्यक रहेकामा जोड दिए ।

‘यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छ चलचित्र भए बजारलाई राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ’, वितरक थापाले भने,‘हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन् ।’

‘दिमाग खराब’, ‘हात्तीछाप’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको विश्व प्रदर्शन अधिकार खरिद गरेको उनले जानकारी दिए । उनी आफूले खरिद गर्ने चलचित्रका निर्मातालाई विदेशी बजारलाई ध्यान दिदै प्रदर्शन तय गर्न आग्रह गर्ने गर्छन् । यस्का साथै प्रवासी नेपालीले मौलिकता बोकेको चलचित्र बढी रुचाउने उनले बताए ।

‘यहाँ दर्शकले खोजिरहनुभएको चलचित्र मौलिक र पारिवारिक हुने गर्छ । जुन प्रदर्शनमा सहज हुन्छ । त्यसैले चलचित्रलाई कलाकार र निर्माण समूहकै आधारमा खरिद गर्ने गरेका छौँ’, उनले भने ।

कमेन्ट गर्नुहोस्