फिल्म । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’को टिम दर्शक भेट्न मोफसल पुगेको छ । काठमाडौँका दर्शकसँगको साक्षात्कारपछि अभिनेता विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेलसहितको टिमले पश्चिम नेपालका विभिन्न हलहरूमा दर्शकको प्रतिक्रिया लिइरहेको छ ।
निर्देशक सुरेन्द्र पौडेलले भने, ‘दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहनुभएको छ । अधिकांश दर्शकले नेपाली मौलिक कथासहितको यो फिल्म हेर्नैपर्ने बताउनुभएको छ । काठमाडौँका दर्शकले जस्तै मोफसलका दर्शकले पनि यो उत्कृष्ट फिल्म भएको भनिरहनुभएको छ ।’
उनले धेरै शो हाउसफुल भएको र हाउसफुल नभएका शोमा पनि ७० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको जानकारी दिए । रिलिजको पहिलो दिनदेखि नै देशभरका हलहरूमा हाउसफुल दर्शकको साथ पाएको यो फिल्मले कतिपय हलमा ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ । राजधानीदेखि बाहिरी सहर र ग्रामीण भेगका हलहरूमा समेत दर्शकको भीड देखिएको छ । उत्साहजनक अकुपेन्सीका कारण केही हलहरूले शनिबारका लागि शो थप गरेका छन् ।
पहिलो दिन बिहानैदेखि धेरै शो हाउसफुल भएको र दोस्रो दिन पनि दर्शकको उच्च उपस्थितिसँगै हाउसफुल भएकोले फिल्मको राम्रो वर्ड अफ माउथ बनेको देखिन्छ । दयाहाङ राई र विजय बराल स्टारर यो फिल्मले पहिलो दिनदेखि नै सकारात्मक रिभ्यु पाएसँगै निर्माण पक्ष व्यापारप्रति आशावादी छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्म्सको सहकार्यमा बनेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको यो फिल्मलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।











