‘सेन्सर बोर्डले सिर्जनात्मक स्वतन्त्रता हनन् गरेको छ’ : अभिनेता राई

फिल्म । अभिनेता दयाहाङ राईले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सोच मै बन्देज लगाईरहेको बताएका छन् । फिल्म ‘राजागञ्ज’ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नु भएको दृश्य हटाउन लगाएपछि फिल्मकर्मीहरूले एक भेला गर्दै यसको विरोध गरेका छन् । उक्त भेलामा अभिनेता राईले आफ्नो पछिल्लो फिल्म ‘दुखी आत्मा’ मा समावेश ‘ओह ! अमेरिका’ भन्ने कविताबाट अमेरिका शब्द नै हटाउन सेन्सर बोर्डले बाध्य पारेको प्रसंग बताए ।

उनले भने,‘सेन्सर बोर्ड अमेरिका शब्द राख्न दिएन, अब मैले कहाँ गएको भन्ने ? त्यहाँ गएको भन्दा दर्शकले बुझ्नु हुन्छ ? सिर्जनाको आशय नबुझेर शब्दसँग डराउने सेन्सर बोर्डको अनविज्ञता वा अज्ञानताले फिल्मकर्मीलाई दु:ख दिएको छ । एउटा कलाकारले स्क्रीप्ट पढ्दा वा सोच्दा नै सिमित बनाउने काम सेन्सर बोर्डको होइन । अब हाम्रो सिर्जनाको परिधि साँघुरो बनाउने बोर्डको आवश्यकता हामी फिल्मकर्मीलाई छैन ।’

उनले बोर्डका कारण फिल्मकर्मीले सिर्जनात्मक स्वतन्त्रता गुमाएको बताए । भेलामा सहभागी निर्देशक नवीन सुब्बाले अब फिल्मकर्मी एकताबद्ध भएर रचनात्मक आन्दोलन गर्ने बताए । उनले आफ्ना संवादलाई सम्बन्धित निकायसँग गरेपछि हल नभएमा आन्दोलनमा जाने जनाए ।

‘हामी यो आवाज राजनीतिक दल, सम्बन्धित निकाएसम्म पुर्याउछौं । त्यो सम्बोधन भएन् भने हामी रचनात्मक आन्दोलनमा जान्छौं, किनकि अब हामी चुप बस्यौ भने अझै दबिन्छौँ । हामी सेन्सर बोर्ड चाहिदैन भनेर संवाद गर्न आउदैछौँ, किन चाहिन्छ भनेर उपयुक्त तर्क तयार गर्नुहोला’, उनले भने ।

मण्डला थियटरमा आयोजना गरिएको भेलामा निर्देशक दीपक रौनियार, मनोज पण्डित, उपेन्द्र सुब्बा, विनोद पौडेल, गणेशदेव पाण्डे, अभिनेता दीपकराज गिरी लगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्