‘आउट लः दफा २१९’ ले पायो राम्रो प्रतिक्रिया

फिल्म । बिहिबारबाट रिलिजमा आएको फिल्म ‘आउट लः दफा २१९’ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे । फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए ।

फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे । फिल्म हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्,‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । यस्तो फिल्म आएपछि हामीले बलिउड र साउथको फिल्म पनि हेर्नुपर्दैन । कथावस्तु पनि राम्रो छ ।’

फिल्म हेर्न हल पुगेका कलाकार गजित बिष्टले भने,‘सुरुवातको १० मिनेट फिल्म केही स्लो छ । यसपछि फिल्मले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ । एक्सन त गज्जब नै छ । एक्सन मन पराउने दर्शकका लागि यो फिल्म विशेष हुनसक्छ ।’

दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए । उनले भने,‘मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ । आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु ।’ फिल्मका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्