फिल्म । ‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहिबार सकिएको छ । सामाजिक अभियन्ता अनुराधा कोईरालाको उपस्थिती ७ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो । गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको थियो ।
महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिइन् । त्यसपछि ४२ बर्ष पुरानो फिल्म प्रदर्शन गरिएको थियो । फिल्म ‘सिन्दुर’ प्रदर्शनसँगै सुरु भएको महोत्सव आज अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो ।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ (श्रृंगारक), गीता अधिकारी (चलचित्र पत्रकार), सरिता साह (कलाकार तथा निर्देशक), पशुपति राई (अभिनेत्री) र थिन्ले ल्हामो (अभिनेत्री) ‘महिला चलचित्रकर्मी सम्मान’ मार्फत सम्मानित भएका थिए । उनीहरूलाई जनही नगद राशी पच्चीस हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा बसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दिपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, रक्षा सिंह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतको उपस्थिती थियो ।
महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा र हौसला मिल्ने चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्षमा अभिनेत्री केकी अधिकारी रहेकी छन् ।










