फिल्म । नेपाली फिल्ममै आफ्नो जीवन समर्पित गरेका स्वर्गीय केशव भट्टराईको परिवारलाई निर्देशक सुदीप भुपाल सिंह ‘बबी’ ले आर्थिक सहयोग गर्ने भएका छन् । केहि समय अगाडी रिलिज गरिएको फिल्म ‘साङ्ग्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतको शब्द चोरिएको भन्दै निर्देशक सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । आफुले लेखेको गीत नसोधेरै फिल्ममा प्रयोग गरिएको र युट्युबमा पनि अर्कैको नाम आएपछि प्रतिलिपि अधिकारको रक्षार्थ उनले उजुरी दिएको बताउछन् ।
उजुरी पछि फिल्मका निर्देशक, निर्माता तथा कलाकार विराज भट्टले मंगलबार राजधानीमा प्रेसमिटको आयोजना गर्दै आफ्ना कुरा राखेका थिए । संगीतकार सुरेश अधिकारीले सुदीपको नाम प्राविधिक कारणले छुटेको स्वीकारेपछि यतिबेला विवाद मिलेको छ । ‘मैले सिस्टमको लागि लडेको हुँ’ सुदीपले भने ,’उँहाले गल्ति स्वीकार गर्नु भयो ।’ उनले आउँदो दिनमा यस किसिमका भुल गर्ने जो कोहिँले अब सोच्न बाध्य हुने बताए । यसैगरी उनले क्षतिपुर्ती वापत पाएको रकम ५० हजार स्वर्गीय केशव भट्टराइको परिवारलाई हस्तान्तरण गर्ने भएका छन् । ‘उँहाले आफ्नो जीवननै यसमै समर्पित गर्नु भयो त्यसैले मैले पाउने रकम उँहालाई प्रदान गर्दैछु’ उनले भने । उनले आफ्नो नियत फिल्म रोक्न वा अन्य केहिँ नभएको जनाउदै सिस्टम बसाउन मात्र खोजेको जनाए ।
स्व. भट्टराईलाई सहयोग गर्न समिति गठन
पुर्व चलचित्र विकास बोर्ड् अध्यक्ष राजकुमार राईको नेतृत्वमा ‘स्वर्गीय केशव भट्टराई सहयोग समिति’ समेत गठन भएको हो । समिति सदस्यहरुमा नीकिता पौडेल , बसुन्धरा भुषाल , आकाश अधिकारी , प्रदीप कुमार उदय , रविन्द्र खड्का , विनोद भट्टराई , प्रकास सुवेदी , दीपाश्री निरौला , आरबी कटवाल र शिशिर भण्डारी रहेका छन् । सोमबार बसिएको बैठकले समिति गठन गर्दै परिवारको लागि आर्थिक संकलन गर्ने बताईएको छ ।
‘फिल्मकर्मीका लागि कल्याणकारी कोषमा १० करोड मांग गर्ने र स्वर्गीय भट्टराईजीको परिवारको समस्यालाई टार्ने हामो प्राथमिकता हो’ सदस्य उदयले बताए । उनले फिल्मै जीवन समर्पित गर्नेको परिवारलाई हेर्ने दायित्व फिल्मकर्मीकै रहेको भन्दै सहयोगी हात अगाडी बढाउन आग्रह गरे ।
‘हामी फिल्मकर्मी एउटा परिवार हौ त्यसैले एक अर्काको दुखमा हातेमालो गरौँ’ उदयले भने । उनले नेपाल सरकारसंग कल्याणकारी कोषमा रकम जम्मा गर्न पहल गरिने बताए । हार्ट अट्याक भएर दिवंगत भएका भट्टराईको परिवार यतिबेला अपार्टमेन्टको ऋणमा रहेको छ । झन्डै ५० लाख ऋण रहेको स्वर्गीय भट्टराईको परिवारमा श्रीमती र एक छोरा रहेका छन् ।











