फिल्म । चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू फिल्म ‘शुभ लभ’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘टुक्रियो एउटा सपना’ मा हरिहर तड्पिएको प्रेमीको रुपमा चित्रण भएका छन् । उनको प्रेम वियोगलाई प्रस्तुत गरिको गीतलाई बिशाल निरौलाले तयार पारेका हुन् । गीतमा उनकै शब्द , संगीत र स्वर रहेको छ । गीतलाई निर्देशक सन्तोष बाबु लोहनी आफैले तयार गरेका हुन् । फिल्ममा हरिहरको अपोजिटमा क्रिस्टिन पौडेल कास्ट छिन् । उनको यो डेब्यु फिल्म हो । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्रीप्रदीप कुमार उदय हुन् ।
फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ भने अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । हरिहर आफैंले लेखेको कथामा आधारित उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । फिल्म आउँदो चैत्र १५ मा रिलिज हुदैछ ।










