कार्की साइँला आफैँमा भावुक पात्र हो : जीतु

फिल्म । नेपाली फिल्म ‘कार्की साइँला’का मुख्य अभिनेता जीतु नेपालले फिल्ममा आफूले निर्वाह गरेको पात्रको जीवन आफैँमा भावुक रहेको बताएका छन् । उनका अनुसार कार्की साइँलाका लागि माया र विवाह निकै महत्वपूर्ण छन् ।

‘मेरो पात्र जीवनसाथीको खोजीमा हुन्छन् । जीवनमा केही हासिल गर्ने लक्ष्य बनाएर अघि बढ्ने क्रममा उनले विभिन्न संघर्ष गर्नुपर्छ। र, त्यहि क्रममा उनलाई जीवनसाथीको आवश्यकता महसुस हुन्छ र विवाह गर्ने लक्ष्यसहित अगाडि बढ्छ’, उनले भने ।

‘कार्की साइँला’ सोझो र सरल स्वभावका पात्र हुन् । समाजबाट हेपिएपछि उनले आफ्नो लक्ष्य निर्धारण गर्छन् । आफूमा भएको कमी वा कमजोरीलाई लिएर समाजले घोचपेच गरेपछि त्यसलाई चिर्ने क्रममा उनले संघर्ष गर्ने जीतुको भनाइ छ ।

फिल्मको कथा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को वरिपरि घुमेको छ । गाउँमा भारी बोकेर जीवनयापन गर्ने भरियाको पारिवारिक दायित्व, विवाह, सन्तानको खुसी तथा गाउँलेहरूको हेपाहा प्रवृत्तिलाई फिल्मले प्रस्तुत गरेको छ।

फिल्ममा जितु नेपाल अरूको विवाह गराइदिने ‘लमी’को भूमिकामा समेत देखिएका छन्। गाउँमा आएकी एक युवती (प्रियना आचार्य)को भारी सित्तैमा बोकिदिएपछि उनीहरूबीच सम्बन्ध अघि बढ्छ। उक्त सम्बन्ध प्रेम हुँदै विवाहमा परिणत हुन्छ। त्यसपछि सन्तान जन्मिएपछिको परिस्थितिले कथामा मुख्य मोड ल्याउँछ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। डम्बर राईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्।

कमेन्ट गर्नुहोस्