फिल्म । नेपाली फिल्म ‘होस्टेल ३’ को अपार सफलतापछि निर्माण टिमले नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’को घोषणा गरेको छ । सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्ने यो फिल्मले दुई पुस्ताबीचको सोच र व्यवहारको टकराबलाई मुख्य विषय बनाउनेछ । निर्देशक सशान कँडेलले नेपाली समाजमा बढ्दो पुस्तागत अन्तर र नयाँ पुस्ताको दुर्व्यसनको यथार्थलाई फिल्ममा चित्रण गर्ने बताए ।
लेखक माधव शर्माका अनुसार कथाले बाउ र छोराबीचको भौतिक दूरी मात्र नभई सोच, दृष्टिकोण र जीवनप्रतिको बुझाइको खाडललाई उजागर गर्नेछ । टाइटल डिजाइनमा ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ को अवधारणालाई रोयल भीमसेनले रचनात्मक ढंगले प्रस्तुत गरेका छन् ।
‘होस्टेल ३’ले ५१ दिनसम्म प्रदर्शनको कीर्तिमान राखेको थियो । ‘बाउ भर्सेस छोरा’को स्क्रिप्ट अन्तिम चरणमा पुगेको र कलाकार चयन, छायाङ्कन मिति र प्रदर्शन समयबारे चाँडै जानकारी आउने निर्माण टिमले जनाएको छ । फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । यो फिल्मले दर्शकलाई पुस्तान्तरणको गहिरो कथावस्तु र सशक्त प्रस्तुतिमार्फत नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।