फिल्म । प्रदर्शनरत नेपाली फिल्म ‘मालती मंगले’मा समावेश ‘चुड्का भजन’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रदर्शनको तेस्रो दिनसम्म आइपुग्दा घरेलु बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्मको निर्माण टिमले दर्शकको उत्साहबीच नयाँ सांगीतिक सामग्री सार्वजनिक गरेको हो । निर्माण पक्षका अनुसार हलहरूमा दर्शकको चाप बढ्दै गएको र सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेका बेला गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा पुरुषोत्तम ढुंगेल को शब्द रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ । गीतमा किरण भुसालकै संगीत निर्देशन रहेको छ । परम्परागत चुड्का लयमा तयार गरिएको गीतमा तालवाद्यमा किरण भुसाल र रायपुर समुदायको साथ रहेको छ ।
गीतमा मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेल को प्रस्तुति रहेको छ भने गोविन्द पी.के. आँशु, अच्युत कडेल, सञ्जय मोक्तान, राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ रिदम कँडेल ले गरेका हुन् ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकको राम्रो साथ पाएको निर्माण पक्षले जनाएको छ । शनिबार राजधानीका विभिन्न हलमा पुगेका निर्माता तथा गायक रामकृष्ण ढकाल, अभिनेत्री वर्षा राउत, अभिनेता विजय बराल र मेक्सम गौडेललाई दर्शकले उत्साहपूर्ण स्वागत गरेका थिए । फिल्म हेरेका दर्शकले यसलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति गराउने नेपालीपन बोकेको फिल्मका रूपमा प्रतिक्रिया दिएका छन् । विशेषगरी वर्षा राउत, विजय बराल र मेक्सम गौडेलको अभिनयको प्रशंसा भइरहेको छ ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक पाण्डेय स्वयंको हो भने पटकथा तथा संवाद संयोग गुरागाई ले तयार पारेका हुन् । फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ ।
फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेज को सम्पादन, कृष्ण भण्डारी को कलर संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गरिरहेको छ ।












