रविनाको ‘ब्युटी टिप्स’

फिल्म । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण भइ रहेको लकडाउनले गर्दा बलिउड सेलिब्रिटी अहिले फुर्सदमा छन् । उनीहरू आफ्ना प्रशंसकसँग सामाजिक सञ्जाल मार्फत जोडिइरहन नयाँ–नयाँ उपाय निकालिरहेका छन् ।

अभिनेत्री रविना टन्डनले प्रशंसकलाई ब्युटी टिप्स दिन भ्याइसकेकी छिन् । हालै उनले एउटा भिडियो सेयर गरेकी छिन् । जसमा उनले हात नरम बनाउने घरेलु तरिका सिकाएकी छिन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘सामाजिक दूरी अपनाउने बेला हो । यो बेला हात धोएर सफा गर्ने मात्र नभई सुन्दर पनि राख्नुपर्छ । सबै जना आ–आफ्ना घरमा छन् । घरेलु उपाय अपनाएर हात नरम र सुन्दर बनाउन सकिन्छ ।’

भिडियोमा उनले काँचो दूधले हात नरम बनाउन सक्ने बताएकी छिन् । ‘एक कचौरा काँचो दूधमा २० मिनेटसम्म हात डुबाउने र पछि हात धोएर म्वइस्चराइज गर्ने,’ उनले भनेकी छिन्, ‘यसो गर्दा हात नरम र सुन्दर बन्छन् ।’ ‘ब्युटी टिप्स विद राब्ज’ मा उनले सातामा एक पटक ब्युटी टिप्स दिने बताएकी छिन् । रविनाले पहिले पनि सामाजिक सञ्जालमा ब्युटी टिप्स सेयर गर्ने गर्थिन् । तर, बीचमा बन्द गरेकी थिइन् । लकडाउनमा फुर्सद हुँदा उनले फेरि टिप्स दिन सुरु गरेकी छिन् । (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्