फिल्म । ‘नेपाल ग्रामीण फिल्म महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको सर्लाही जिल्लास्थित चन्द्रनगर गाउँपालिकामा आयोजना गरिनेछ ।
महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भई तयारी कार्य अघि बढिसकेको जनाइएको छ ।
‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित फिल्मलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै ‘सबैको सिनेमा, सबैका लागि’ भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ ।
गाउँ-गाउँमा सिनेमा पुर्याउने अभियानस्वरूप सुरु गरिएको यस महोत्सवले ग्रामीण परिवेशका कथा, परम्परा, भेषभूषा, भाषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ ।‘हाम्रो गाउँ, हाम्रो कथा, हाम्रो सिनेमा’ भन्ने नारालाई सार्थक बनाउँदै यसले देशका तीनै भौगोलिक क्षेत्रलाई एक सूत्रमा बाँध्ने प्रयासलाई निरन्तरता दिनेछ ।
महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्मतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन् । तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
महोत्सवमा ग्रामीण परिवेश झल्किने छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विविध भाषाभाषीका फिल्महरू गाउँकै दर्शकमाझ निःशुल्क प्रदर्शन गरिनेछन् । अफिसियल सेलेक्सन सूची आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ । यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।










