नगरकोटमा चारदिने ‘चङ्गा चेट’ हुँदै

देश । दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि उत्सव पुनः सञ्चालन गर्न लागिएको हो।

नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँको अवसरमा चङ्गा उडाउने र सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। यही परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा नेपाली संस्कृति, पारिवारिक जमघट र सामूहिक उत्सवलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा विदेशी पर्यटकका लागि समेत विशेष आकर्षण रहने बताइएको छ।

चार दिनसम्म सञ्चालन हुने उत्सवमा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु र स्ट्यान्डअप कमेडीलगायत मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। सहभागीले दसैँ विशेष खानपानका साथै हिटेड स्विमिङ पुल र ज्याकुजीको सुविधा पनि लिन सक्नेछन्। काठमाडौं उपत्यकाबाट नगरकोट आउने सहभागीका लागि अतिरिक्त शुल्कमा यातायातको व्यवस्था गरिने आयोजकले जनाएको छ।

नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुन सिंह ठकुरीले ‘चङ्गा चेट’लाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने अवसरका रूपमा लिइएको बताए।

“नगरकोटमा दुई दशकदेखि चङ्गा चेट हुँदै आएको हो। बीचमा रोकिएको थियो, तर यस वर्षदेखि ‘यसपालिको दसैँ… आकाशमा चङ्गा, मनमा उमङ्ग!’ भन्ने नारासहित पुनः आयोजना गर्न लागेका छौँ,” ठकुरीले भने। उनले आगामी दिनमा यस कार्यक्रमलाई सामान्य उत्सवमा मात्र सीमित नराखी बृहत् महोत्सवका रूपमा विकास गर्ने योजना रहेको पनि बताए।

कार्यक्रममा पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। मनोरञ्जन, साहित्य, स्वास्थ्य, शिक्षा तथा कर्पोरेट क्षेत्रका व्यक्तित्वसँगै परिवार र सर्वसाधारणको पनि सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार चारदिने उत्सवमा विभिन्न कलाकारले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्।

कमेन्ट गर्नुहोस्