फिल्म । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज गरिएको छ । मंगलबार माघेसंक्रान्तीको अवसरमा यसमा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ । गीतको भिडियोमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट लगायत फिचर्ड छन् ।
यसअघि विसं २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’ को दोस्रो भाग भनिएको फिल्मलाई सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण गरिएको हो । निरोज महर्जनको लेखन र निर्देशनमा तयार भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता, सुरज विक्रम ठकुरी कार्यकारी निर्माता र सह–निर्मातामा एनि थापा छन् ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
फिल्ममा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।