‘माग्ने राजा’ बाट ढुक्क वर्षा

फिल्म । फिल्म ‘नाइँ नभन्नू ल २’ बाट नेपाली फिल्ममा पाइला चालेकी अभिनेत्री वर्षा सिवाकोटीको फिल्मी करियर यतिबेला उत्कर्षमा छ । उनी अहिले एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेकी छन् । सफलताको एकपछि अर्को खुड्किलोमा यात्रा गरिरहेकी वर्षाको मुख्य भूमिका रहेको आगामी भदौ ६ गते रिलिज हुने फिल्म ‘माग्ने राजा’ मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को जोडीका रूपमा दर्शकमाझ देखिँदैछिन्।

‘मलाई फिल्ममा प्रस्ताव आउनासाथ मैले काम गर्न सहमत जनाएँ । किनकि राम्रो टिमको लोभ थियो । केदार दाइसँग मैले ‘छक्का पञ्जा ५’ मा सहकार्य गरिसकेकाले पनि म ‘माग्ने राजा’ मा काम गर्न राजी भएँ’, वर्षाले भनिन् । पहिलोपटक केदार ‘माग्ने राजा’ मा प्रमुख भूमिकामा रहेकाले आफू उत्साहित रहेको उनले खुलाइन् ।

उनले निर्देशक ऋषि लामिछाने पनि लामो समयपछि निर्देशनमा कमब्याक गरेको र लेखक सामीप्यराज तिमल्सेनाको स्क्रिप्टमा आफूले यसअघि नै फिल्ममा काम गरिसकेकाले फिल्ममा केही पक्कै फरक हुनेछ भनेर सहकार्य गरेको बताइन् । आफूले सधैं गरिरहेको क्यारेक्टरभन्दा ‘माग्ने राजा’ मा फरक देखिएको वर्षाको दाबी छ ।

‘फिल्मको कथावस्तु नै फरक छ। मेरो जुन क्यारेक्टर भन्नुभएको छ, त्यसमा उहाँहरूले न्यारेट गर्दाखेरी त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो । तर उहाँहरूको सोचाइअनुसार नै मैले काम गरेकी छु’, उनले भनिन् ।

वर्षाले निर्माण पक्षको योजनाअनुसार नै फिल्म बनेकाले फिल्म सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । फिल्मको कन्टेन्टले दर्शकले रिलेट गर्न सक्ने वर्षाको भनाइ छ । ‘फिल्मले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ । हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ । फिल्मले सबै वर्गलाई प्रतिनिधित्व गर्छ । अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही चित्रण गरेको छ । फिल्मले राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तुत गरेको छ’, वर्षाको भनाइ छ ।

फिल्म ‘छक्का पञ्जा ५’ मा आफूले काम देखाउन पाएकैले सन्तुष्टि मिलेको उनले बताइन् । ‘मैले अहिलेसम्म काम गरेका फिल्ममध्ये अलिकति बढी एप्रिसियट पाएको ‘छक्का पञ्जा ५’ बाटै हो । किनभने त्यो लेभलको सपोर्ट अहिलेसम्म मैले पाएको थिइनँ । ‘माग्ने राजा’ मा पक्कै पनि त्योभन्दा मैले केही फरक गरेको छु जस्तो लाग्छ’, उनी भन्छिन् ।

उनले सुरुमा फिल्मको नाम सुन्दा रोचक लागेको बताइन् । माग्ने भन्नासाथ दिमागमा धेरै कुरा आउने भएकाले ती आएका कुरालाई एउटै चरित्रले पोट्रे गर्ने उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्