जय होस्ले जुराएको आर्यन , नम्रता र दयाको भेट

फिल्म । सन् २००९ को सेप्टेम्बर ११ मा प्रदर्शन भएको फिल्म हो ‘मेरो एउटा साथी छ’ । नेपाली फिल्म बनिरहेको शैली भन्दा केहि भिन्न भएको कारण यो फिल्म नोटिस भयो । यो फिल्मको गीतसंगीत मात्र होइन , पोष्टर र पब्लिसिटीको तरिका पनि फरक नै थियो तात्कालिन समयका अन्य फिल्म भन्दा । फिल्म प्रदर्शन पश्चात यसलाई कोरियन फिल्मको कपिको आरोप लागेता पनि यस फिल्म मार्फत आर्यन सिग्देल , नम्रता श्रेष्ठ यस क्षेत्रमा स्थापित नै भए । सुदर्शन थापाको निर्देशनमा तयार फिल्ममा दयाहाङ राई पनि थिए ।

उनको भूमिका सहायक भएपनि दर्शकले उनलाई नोटिस गरे । यो फिल्म प्रदर्शन भएको झन्डै दशक बितिसक्दा पनि यसलाई सम्झिन्छन कलाकारहरु । ‘मेरो एउटा साथी छ’ का यी तीन पात्र राजधानीको बालुवाटार स्थित चियापानमा संयोगवश भेट भए । रमाइलो कुरा त के छ भने यी तीनै जना आफ्ना फिल्मको प्रचारका क्रममा भेट भएका थिए । जय होस्कै ‘चियापान’ शो मा अन्तर्वार्ता दिन आउने क्रममा यी तिनको भेटघाट भएको थियो । धेरै समयको अन्तरालमा भेटिएका तिनैले एक अर्कासँग राम्रै भलाकुसारी गरे ।

‘मित्रता दिवस’ को दिन भएकाले उनीहरुले पहिलो स्क्रीन सांझेदारी गरेको फिल्म ‘मेरो एउटा साथी छ’ लाई सम्झीए । आर्यन आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्म ‘हजार जुनीसम्म’ , नम्रता ‘जाइरा’ र दयाहाङ ‘कबड्डी कबड्डी कबड्डी’ को लागि त्यहाँ आइपुगेका थिए । तिनैले गफ्फिने क्रममा आ-आफ्नो फिल्मको बारेमा जानकारी मात्र गराएनन् , तिनै फिल्मको बारेमा चर्चा समेत गरे ।

दयाले तिनै फिल्मको डेट र नाम भन्दा आर्यन र नम्रताले पनि एक अर्कालाई ‘सफलताको शुभकामना’ दिए । फिल्ममै रहेता पनि पछिल्लो समय तिनै आ-आफ्नो काममा व्यस्त थिए । संयोगले जुराएको भेटले गर्दा तीनैजनालाई खुशी तुल्याएको थियो । यी तिनैले स्क्रीन शेयर गर्न् इच्छुक रहेको समेत प्रतिक्रिया दिएका थिए ।

कमेन्ट गर्नुहोस्