फिल्म । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेका छन् । उनले आइतवार साँझको शो विश्वज्योति सिनेप्लेक्समा पुगेर हेरेका हुन् । फिल्म हेरेर निस्किएपछि उनले आफुलाई कथा नै निकै सशक्त लागेको बताए । ‘ फिल्मले हामीलाई जुम्ला चिनाउछ । त्यहाँ पुर्याउने मात्र नभई जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई पनि यही बसेर जुम्ला देखाउन सक्षम छ’ थापाले भने ।
उनले फिल्मले माओवादी द्वन्द्वको समयमा बेपत्ता भएका वा मारिएका व्यक्तिहरु नम्बरमा मात्र सिमित भएको भन्दै यसले हरेक व्यक्ति आ-आफ्नै कथा रहेको बुझाएको बताए । ‘यतिबेला संसदमा द्वन्द्वमा बेपत्ता नागरिकका सन्दर्भमा विद्येयक बनिरहेको छ । यही सन्दर्भमा ‘प्रकाश’ हेर्दा बेपत्ता नागरिकको परिवारको पीडालाई थप नजिकबाट नियाल्न पाए’ थापाले भने । उनले बेपत्ता वा मृतकसँग एउटा कथा जोडिएको, परिवार जोडिएको, समाज जोडिएको छ भन्दै ‘प्रकाश’ ले आफुलाई त्यसतर्फ पनि झकझकाएको बताए ।
उनले द्वन्द्वको समयमा बेपत्ता भएका वा मृतक भएका परिवारलाई उचित रुपमा स-सम्मान राज्यले नहेरे त्यसले नयाँ विद्रोह गर्न सक्ने संकेत फिल्म गरेको बताए । ‘हामीलाई सचेत बनाएको छ । फिल्म हेरेपछि पक्कै पनि हामीलाई त्यो समयले दिएको पिडालाई थप बोध गराउँछ , जिम्मेवार बनाउँछ’ उनले भने । उनीसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखक , नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाही र रघु कार्की तथा नेपाल प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले फिल्म हेरेका थिए ।
दिनेश राउतको निर्देशनमा तयार फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ ।
समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।












