राष्ट्रिय सम्मानका साथ भट्टराई र क्षेत्रीको अन्त्येष्टि

फिल्म । नेपाली फिल्मका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले दुबैलाई राष्ट्रिय सम्मान दिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईलाई १५ वर्षीय छोरा मिस्क भट्टराईले दागबत्ति दिएका थिए । भने, कलाकार क्षेत्रीलाई पनि छोरा रिनेश बस्नेतले दागबत्ति दिएका थिए ।

कलाकारद्वय भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिनका लागि दिउँसो चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशक, प्राविधिकहरु बोर्ड पुगेका थिए । त्यस पश्चात अन्तिम श्रद्धाञ्जलीका लागि दुबैको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राखिएको थियो ।

दुई दिनको अन्तरमा निधन भएका कलाकारद्वयलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँगै कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निखिल उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला, कुञ्जना घिमिरे, रेखा थापा, मदनकृष्ण श्रेष्ठ, सलिन मान बनिया , सलोन बस्नेत , रमेश उप्रेतीलगायत पशुपति आर्यघाट पुगेका थिए । आर्यघाटमा शुभचिन्तकहरुको ठूलो भीड लागेको थियो ।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । श्रीमती मलेशियाबाट आइतबार दिउँसो मात्र नेपाल ओर्लिएका कारण उनको सोमबार पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो । उनको मुटुमा समस्या देखिएको पोष्टमार्टम रिपोर्टमा देखिएको बुझिएको छ ।

त्यस्तै, निर्माता तथा कलाकार केशव भट्टराईको आइतबार बेलुकी १०ः२५ बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि काठमाडौंको चाबहिलस्थित ओम अस्पताल पुर्‍याउँदा उनको निधन भएको थियो । ५१ बर्षको उमेरमा निधन भएका अध्यक्ष भट्टराईले नेपाली फिल्म विकासको लागि अमुल्य योगदान दिएका छन् ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्