फिल्म । विगत ६ वर्ष देखि आयोजना हुँदै आइरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि सम्झौता भएको छ । निफको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटविच पाँच बर्षको लागि सम्झौता भएको हो । सम्झौतामा निफको अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रवन्धक प्रशंसा पाण्डेले हस्ताक्षर गरे । हस्ताक्षर गरिएको सम्झौता अनुसार निफमा छनौट भएका फिल्महरु काठमाडौं उपत्याकाका क्युएफएक्स अन्तर्गतका हलमा प्रदर्शन हुनेछन् ।
निफले उपत्यका बाहिर पनि क्युएफएक्स अन्तर्गतका हलमा फिल्म प्रदर्शन गर्दै फेस्टिभल आयोजना गर्न सक्ने पनि अध्यक्ष पाठकले बताए । निफ नेपालको अन्तराष्ट्रिय महोत्सव भएकोले यस सहकार्यले उचाई बढेको टिम क्वेष्टका संचालक भाष्कर ढुंगानाले बताए । ‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित विगत ६ बर्षदेखि नियमित रुपमा आयोजना भईरहेको निफमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको ७ वटा विधामा आवेदन दिन सकिने छ । राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लागेता पनि राष्ट्रिय प्रतिष्पर्धाको लागि नि:शुल्क रुपमा आवेदन दिन पाइने व्यवस्था निफले गरेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म www.filmfreeway.com/niff2023 मार्फत आउँदो पुस १० गतेसम्म आवेदन दिन पाइने छ । छैठौँ निफ २०२३ आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म ( २०२३ मार्च १६ देखि २० तारिखसम्म) काठमाडौमा हुने कुरा पनि जानकारी गराइन्छ ।

