फिल्म । अभिनेत्री नीता ढुंगानाको लगानीमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को टिजरलाई दर्शकले रुचाएका छन् । नेपालीसँगै भारतीय प्रसिद्ध कलाकारको संयुक्त अभिनय रहेको फिल्म एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहको कथामा आधारित छ । यसमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रुपमा प्रस्तुत छन् । हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम देख्न सकिन्छ ।
फिल्ममा अभिनेत्री विपना थापा, रेखा थापा जस्ता पुराना कलाकारसँगै साउथका कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय गरेका छन् ।
नेपाली कला, संस्कृतिसँगै फिल्मलाई ‘ह्रस्व दीर्घ’ले भारतसहित विश्वभर चिनाउने विश्वास निर्माण पक्षको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यसलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।