सङ्गीत । गायक दीपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ आगामी भदौ १७ गते आयोजना हुने भएको छ । लिम्बूको जन्मदिन र बृहत् गायन प्रतियोगिता ‘नेपाली तारा’को विजेता बनेको २० वर्ष पूरा भएको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमको आयोजना ओएस म्युजिकले गर्ने भएको छ । सांगीतिक साँझ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक लोहोरुङ राईको संगीत संयोजन रहनेछ । गायक लिम्बूले २५ जना लाइभ वाद्यवादकको साथमा आफ्ना साथै अग्रज कलाकारका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रमको टिकट दर १ हजार र ५०० रुपैयाँ तोकिएको छ ।
सांगीतिक साँझको तयारीलाई लिएर गायक लिम्बू उत्साहित छन् । उनले भने,‘यो सांगीतिक साँझ पछिल्लो २० वर्षमा नेपाली गीतसंगीतसँग जोडिएको मेरो यात्राको लेखाजोखा गर्ने अवसर बनोस् भन्ने लागेको छ ।’
गायक लिम्बू विसं २०६२ सालमा ‘नेपाली तारा’ पहिलो संस्करणका विजेता बनेका थिए । त्यसयता उनले नेपाली फिल्म र आधुनिक गीतमा लगातार हिट गीतहरू दिएका छन् । ‘मैले त्यही भएर मन पराको’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’, ‘ढल्क्यो ढल्क्यो’, ‘मैले माया गर्न जानिनँ होला’ लगायत उनका थुप्रै गीत लोकप्रिय छन् ।











