अप्रिल १९ देखि ‘अञ्जिला’ क्यानडामा प्रदर्शन हुँदै

फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ क्यानडामा प्रदर्शन हुने भएको छ । गएको होलीलाई लक्षित गर्दै गत फागुन २९ मा नेपालमा प्रदर्शन भएको फिल्मले नेपालमा पाएको दर्शकको माया र प्रतिक्रियाका कारण यसको डायस्पोरामा पनि माग बढ्दो छ ।

क्यानडामा दर्शकको उच्च मागको कारण आगन इभेन्ट्स र आइ र यु इन्टरटेनमेन्टले ‘अञ्जिला’ लाई प्रदर्शन तथा वितरण गर्न लागेको जिआर भण्डारीले जानकारी दिए । उनले क्यानडाको टोरोन्टो, मिसीसागा, क्यालगेरी, भ्यान्कोभर लगायतका विभिन्न सहरमा प्रदर्शन हुने बताए । उनले अप्रिल १९ र २० मा शोहरू खुलिसकेको र दर्शकले टिकेट खरिद गरिरहेको बताएका छन् ।

उनले भने,‘नेपाल झैँ यहाँ क्यानडामा पनि नेपाली फुटवल र अञ्जिलालाई माया गर्ने धेरै छौँ । हाम्रो महिला कप्तानको कथालाई हेर्न यहाँ माग भएपछि मसहितका केही साथी मिलेर क्यानडा ल्याएका छौं । यहाँको हरेक सहरमा हामी फिल्म प्रदर्शन गर्दैछौं ।’ भण्डारीसहित श्याम अर्याल र निश्चल पौडेलले ‘अञ्जिला’ क्यानडा भित्र्याएका हुन् ।

फिल्ममा कप्तान सुब्बासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।

फिल्म निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्