‘जाइरा’ लाई लाखे जुलुस

फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ ले मोफसल टुर सकेर यतिबेला प्रचारप्रसारलाई राजधानीमै केन्द्रित गरिरहेको छ । तर गत हप्ता देखि फिल्म युनिटले मोफसल टुर गरेका थिए । मोफसल टुरको क्रममा इटहरीमा भने भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो । इटहरीका स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर फिल्मको टीमलाई स्वागत तथा बजार परिक्रमा गराइएको थियो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलिजको संघारमा प्रस्तुत गरिएको हो । फिल्मको प्रचारमा सहयोग तथा रिलिजको खुशियालीमा लाखे जुलुस निकालिएको स्थानिय युवाहरुले बताए ।

फिल्मको मोफसल यात्रामा नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगरलगायत रहेका थिए । प्रचारको क्रममा विभिन्न शहरमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै अभिनेत्री श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले फिल्म केही अनौठो लाग्न सक्ने बताउँदै फिल्म राम्रो बनेको खण्डमा सफल हुनेमा विश्वस्त देखिइन् । मोफसलमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् । एक महिलाले लिने प्रतिशोधको कथामा ‘जाइरा’ निर्माण गरिएको बताइएको छ । बाबु श्रेष्ठले फिल्म खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्