दुई फिल्म एकसाथ लाग्दा के भन्छन् महेश ?

फिल्म । अभिनेता महेश त्रिपाठी अभिनित दुई फिल्म ‘फेरी रेशम फिलिली’ र ‘लाज शरणम’ आउँदो फागुन १४ मा प्रदर्शन हुँदैछ । केही समयको अन्तरालमा महेश दुई फिल्ममा देखिदैछन् । आफ्नो पात्रलाई जीवन्त बनाउने महेशले यसलाई ‘दुवै हातमा लड्डु’ भएको महसुस गरेको बताएका छन् । उनले आफूले कलाकारका रुपमा मेहनत गरिसकेकाले बाँकी दर्शकको हातमा रहेको बताए ।

उनले भने,’मैले गर्ने मेहनत गरिसके । दुवै भिन्न परिवेशको फिल्म हो । दुवैमा महेश नभई दुई पात्रलाई पाउनु हुनेछ, त्यसकारण दर्शकले भिन्न स्वाद पाउनुहुनेछ । दुईवटा पर्दामा एकसाथ मेरो फिल्म लाग्दा मलाई खुसी नै लाग्छ ।’

अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्व देखाइएको फिल्म ‘फेरि रेशम फिलिली’ मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्प भट्ट, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ । निरोज महर्जनको लेखन तथा निर्देशन रहेको फिल्म आकाश बरालको पटकथा रहेको छ ।

यस्तै, महेश अभिनित अर्को फिल्म ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै आज मंगलवार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओ.एस्.आर. डिजिटल इन्टरटेनिङ्ग द नेशन प्रा.लि., जे.पि.टी. क्रीयशन प्रा.लि., जे.पि.टी. क्रीयशन प्रा.लि. को संचालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाईएको छ । अदालतको आदेशसँगै ‘लाज शरणम’ को प्रदर्शन पनि अन्यौल भएको छ ।

कमेन्ट गर्नुहोस्