फिल्म । फिल्म ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई फिल्म युनिटले बिदाई गरेको छ । सन् २०२४-२५ मा युरोपेली मुलुक ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि जान लागेकी अञ्जिलालाई फिल्म टिमले एक कार्यक्रमको आयोजना गर्दै बिदा गरेको हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए । प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले एञ्जिलाको सङ्घर्ष र सफलता नेपाली खेलकुद र फिल्मको लागि प्रेरणादायी भएको बताए ।
उनले भने,‘यो फिल्मले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पुर्याउनेछ । निर्देशक मिलन चाम्स नेपाली फिल्म क्षेत्रको ‘मेस्सी’ हुनुहुन्छ । प्रतिभाशाली युवाहरूलाई थप उचाइमा पुर्याउन यो चलचित्रले ठूलो भूमिका खेल्नेछ ।’
पत्रकार सम्मेलनमा फिल्मको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने जानकारी गराइयो । निर्देशक मिलन चाम्स र अञ्जिला सुब्बा प्रिमियरमा सहभागी हुनेछन् । हङकङमा टिकट हप्तामै सोल्ड आउट भइसकेको उल्लेख गर्दै निर्देशक चाम्सले दर्शकहरूको चासो र उत्साहप्रति आभार व्यक्त गरे ।
‘हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट हुनु, यो फिल्म प्रतिको उत्साहलाई देखाउँछ । अञ्जिलाले फिल्म र खेलकुदलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ’, चाम्सले भने । हङकङपछि फिल्मको प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिनेछ । फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर फिल्म एकसाथ प्रदर्शन गरिने समारोहमा बताइयो ।
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले यो फिल्मलाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन् । उनले भनिन्,‘सम्भवतः यो फिल्म नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो । अञ्जिलाको सङ्घर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ ।’
राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले फिल्मलाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनले भने,‘नेपाली फुटबलको पहिलो बायोपिक बनेको सुन्दा गर्व लागेको छ । आशा छ, यो फिल्मले थप प्रेरणादायी प्रभाव छोड्नेछ ।’ उनले युरोपियन लिगमा महिला गोलरक्षकले खेल्ने अवसर पाउनु ठूलो उपलब्धि रहेको समेत उल्लेख गरे ।
‘अञ्जिला’की मुख्य अभिनेत्रीसमेत रहेकी खेलाडी अञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी रहेको बताइन् । उनले आगामी दिनमा थप सफलता हासिल गर्न सबैको साथ र समर्थनको अपेक्षा गरेको जनाइन् ।
फिल्म ‘अञ्जिला’ कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा अञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।











