‘पुष्पा २: द रुल’ : नेपालमा पनि स्थगित भयो ‘थ्री डी’ प्रदर्शन

फिल्म । यो वर्ष सन् २०२४ मा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म हो, ‘पुष्पा २: द रुल’ नेपालमा पनि ‘थ्री डी’ प्रविधिमा प्रदर्शन नहुने भएको छ । सन् २०२१ मा प्रदर्शन भएको यसको पहिलो भाग दर्शक माँझ लोकप्रिय भएपछि यसको दोस्रो भाग प्रतिक्षित बनेको छ । भारतमा व्यापारको नयाँ रेकर्ड बनाउने भनिएको अभिनेता अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ को हिन्दी भर्सन ‘टू डी’ प्रविधिमा मात्र प्रदर्शन हुने भएपछि नेपालमा ‘थ्री डी’ रोकिएको हो ।

यसअगाडि ‘थ्री डी’ मा टिकट खरिद गरेका दर्शकले सम्बन्धित हलको बक्सअफिसमा सम्पर्क गरेर बाँकी रकम फिर्ता पाउने प्रदर्शकले जनाएका छन् । नेपालका प्रदर्शकले सूचना जारी गर्दै फिल्मका ‘थ्री डी’ शोहरू ‘टू डी’ मा राखिएको जानकारी गराउँदै बाँकी रकम फिर्ता लिन आग्रह गरेका छन् ।

नेपालमा पनि आक्रामक व्यापारको सुरुआत गर्ने देखिएको ‘पुष्पा २: द रुल’ डिसेम्बर ५ मा विहानै ४ बजेदेखि प्रदर्शन हुँदैछ । जाडो समयमा यती विहानी शो राखिएको यो पहिलो फिल्म हो । नेपालमा यसलाई महङ्गो मुल्यमा भित्र्याइएको छ । यसको नेपाल आगमन मुल्य झन्डै ६ करोड नेपाली रहेको चर्चा रहेता पनि यसबारे वितरकले आधिकारिक रुपमा प्रतिक्रिया दिएका छैनन् ।

फिल्मको टिजर, ट्रेलर र सार्वजनिक तीन गीतको लोकप्रियतालाई मापन गर्ने हो भने यसले पहिलो सातामै पन्ध्र करोड बढीको व्यापार गर्ने अनुमान प्रदर्शकको छ । सुकुमारको निर्देशनमा बनेको फिल्म ‘पुष्पा २ : द रुल’ मा अल्लु अर्जुनसँगै रश्मिका मन्दाना र फहद फासिल लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्