‘गीतसङ्गीतमा एउटा अध्यायको समापन भयो’ : नेका महामन्त्री

देश । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दुःख व्यक्त गरेकाछन् । महामन्त्री थापाले गायक आचार्यको प्रस्थानसँगै एक अध्यायको समापन भएको बताए ।

‘उहाँको विदाईसँगै सङ्गीतको एउटा अध्यायको सम्पान भएको छ । विगत तीन दशकदेखि गीतसङ्गीतमा सक्रिय नभएता पनि नयाँ पुस्ताका लागि समेत उहाँ प्रेरणादायी हुनुहुन्थ्यो । हाम्रो पुस्ताका लागि त उहाँको गीतसङ्गीतको लोकप्रियतालाई शब्दमा व्यक्त गर्न सकिदैन । उहाँ गीत नसुन्ने सायदै हाम्रो पुस्तामा थिएँ’, महामन्त्री थापाले भने ।

उनले स्वर्गीय गायक आचार्यको गीतसङ्गीतलाई उहाँकै दुई छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्यले अगाडि बढाईरहेको बताए । अर्का महामन्त्री शर्माले एउटा गायकले विगत तीस वर्षदेखि गीत नगाउन सक्नुको पिडा अन्यले महसुश गर्न नसके बताए ।

‘एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ । तर, उहाँले सामना गर्नुपरेको परिस्थिति हामीले सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएको जस्तो लाग्छ’, महामन्त्री शर्माले भने,‘उहाँ भौतिक रुपमा विदा भएता पनि आगामी तीनसय वर्षसम्म उहाँको गीतसङ्गीतको चर्चा हुनेछ । उहाँ सुर र स्वर भएको सम्राट गायक हुनुहुन्थ्यो । मैले भन्नु उहाँ सुर सम्राट हुनुहुन्थ्यो ।’

गायक आचार्यको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पशुपति आर्यघाटमा लगिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङगीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङगीत क्षेत्रमै छन् ।

कमेन्ट गर्नुहोस्