रसुवा बाढीमा ३८९ शव भेटिए

देश । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म विभिन्न जिल्लामा ३८९ शव फेला परेका हुन् । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव फेला परेका छन् । यस्तै, हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।

निरन्तर उद्दारमा सुरक्षाकर्मी

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। विपद्‌मा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।

बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५० जना, नेपाली सेनाका ४ हजार २०० जना र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीहरूले हवाई र पैदल दुवै मार्गबाट कार्य अघि बढाएका छन्।

स्थलगत पहुँच कठिन भएका स्थानहरूमा हवाई मार्गबाट द्रुत उद्धार गरिएको छ। नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरहरूले ६९ पटक उडान भरेर जोखिमपूर्ण स्थितिमा थुनिएका ३५१ जना नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याएका छन्।

प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा पनि खोजी र राहत वितरणको कार्यलाई अझ बलियो र विस्तृत बनाउँदै लगेका छन्।

कमेन्ट गर्नुहोस्