टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार

देश । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच जोखिमपूर्ण परिस्थितिमा सेनाले उनीहरूको उद्धार गरेको हो।

टनेलभित्र अझै पनि १०० जनाभन्दा बढी मानिस फसेको बताइएको छ। उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली उद्धार कार्यमा जुटिरहेको छ।

टनेलभित्रको उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली)बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।

यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट क्षेत्रमा पनि सेनाले उद्धार कार्य जारी राखेको छ। सीक्यूआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको १/५ को टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।

नेपाली सेनाका अनुसार आज (२०८३ भदौ ११ गते) रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट टनेलमा फसेका मजदुर तथा स्थानीयसहित कुल ८८३ जनाको उद्धार गरिएको छ। बाढीको उच्च जोखिमबीच सेनाले निरन्तर उद्धार कार्यलाई अघि बढाइरहेको छ।

कमेन्ट गर्नुहोस्