देश । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आज शीतलनिवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पु¥याएवापत डा. आचार्यलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।
यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार २०८०’ पत्रकार चेतनाथ धमलालाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले युगकवि श्रेष्ठसुयश फैल्याउन सहयोग गर्नुहुने निर्देशक जनक खड्कालाई कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, प्राडा मोहन लोहनीले युगकवि श्रेष्ठको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।










