‘बारा जिल्लाले सम्भावना बोकेको छ’ : अर्थमन्त्री डा. महत

तस्विर : गोपाल दाहाल / अर्थमन्त्रालयको सचिवालय

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना रहेको बताए ।

उनले भने,‘कृषिका कारणले मात्र बारा महत्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि बारामै पर्छ । यहाँ धेरै उद्योग व्यवसाय स्थापित छ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ ।’

उनले स्थानीयवासीलाई भारतसँग छलफलपछि बारा एउटा नाका खुल्न सक्ने बताए । यसवर्ष सातै प्रदेशको धार्मिक स्थल र सांस्कृतिक केन्द्रको विकासका लागि बजेट राखिएको बताउदै उनले बाराको गढीमाइलाई पनि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

‘तराईसँग काठमाडौं जोड्ने द्रुतमार्ग पनि निर्माण हुँदैछ । यो मार्ग छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको छ । यो मार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–बाराको दूरी ४५ मिनेटमा झार्नेछ’ मन्त्री डा. महतले भने,‘बाराबाट एकैदिनमा काठमाडौं पुग्ने र काम सकेर फर्किने वातावरण बन्दैछ । त्यत्ति मात्र होइन, अन्तर्राष्ट्रिय विमानस्थल पनि बारामै बन्दैछ, विविध कारणले यो ढिलाइ भएको छ । यसबारेमा भारतलगायत अन्य विभिन्न लगानीकर्तासँग कुराकानी भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्