फिल्म। चलचित्र विकास बोर्डको अध्यक्षको पद सम्हाले देखि नै भुवन केसी विवादमा छन्। उनले गर्ने निर्णयले उनलाई विवादमा ल्याउने गरेको छ। गत वर्षको अन्तिम दिन वर्षभरी नेपालमा प्रदर्शन भएका एक सय ३२ फिल्मको व्यापारिक हिसाबकिताब सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसी विवादमा तानिए। प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ का लेखक, कलाकार तथा निर्माता दीपकराज गिरीले असन्तुष्टी व्यक्त गरे।
‘हाम्रो हिसाब सही आएको छैन । प्रदर्शनरत चलचित्रको हिसाब निकाल्दा यो गतेसम्मको पनि भनिएको छैन’, निर्माता गिरीले भने । उनले सामाजिक सञ्जालमार्फत बोर्ड अध्यक्षमा केसी नियुक्त भएपछि विवादको शृंखला सुरू भएको समेत उल्लेख गरेका थिए । उनै निर्माता गिरीलाई बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय करण गर्न मदत गर्ने निर्माताको रूपमा सम्मान गरेका छन ।
आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा दुवै स्टेजमा एकसाथ देखिनुका साथै सम्मान आदानप्रदानसमेत गरे। कार्यक्रममा बोर्ड अध्यक्ष केसी प्रमुख अतिथि थिए भने निर्माता गिरी सम्मान ग्रहण गर्न उपस्थित भएका थिए।










