फिल्म। चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ। मौलिक,सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ।
प्रतियोगितामा सहभागि हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम बि.सं. २०८० बैशाख १० गतेसम्ममा बोर्डको कार्यालय अथवा ईमेलमार्फत पेश गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रहरुले क्रमशः प्रथम हुने चलचित्रले एक लाख पचास हजार रुपैयाँ, द्वितिय हुनेले एक लाख रुपैयाँ र तृतिय हुनेले पचहत्तर हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु, बिशेष प्रदर्शनीमा सहभागी गराउनेछ ।
प्रतियोगितामा सहभागि हुने चलचित्रहरु कम्तीमा पचास प्रतिशत नेपालमा नै छायाङ्कन भएको र चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन बर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ति चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।











