रङ्गमञ्च। काठमाडौंको जमलस्थित नाचघरमा भईरहेको तेश्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ मा बुधवार दुई नाटक मञ्चन भएको छ । आज दिउँसो १ बजे निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ र साँझ ५ बजे यो गीता थापा निर्देशित नाटक ‘पट्टाचारा’ मञ्चन गरिएको हो। नाटक ‘प्रतिविम्ब’मा बाउ छोराबीचको प्रेम देखाईएको छ । छोरा गुम्बा बसेपछि आएको परिवर्तनको कथा समेटिएको नाटकमा टेक बिक्रम थापा, अनिषा न्यौपाने, रमेश बहादुर खडका, मनिष चौलागाई, नरहरि पराजुली, सलिना क्षत्री, शुशिला थापा, पार्वती गिरी, चन्द्रकुमार सरु मगरले अभिनय गर्नुभएको छ।
आजै मञ्चन गरिएको गीता घिमिरे थापा निर्देशित नाटक ‘पट्टचारा’मा आफ्नै नोकरको मायाँप्रेममा परेकी एक सुन्दरीको प्रेम र सङ्घर्षलाई देखाईएको छ। बुद्धलाई भेटेपछि ती युवतीमा आएको परिवर्तन प्रस्तुत गरिएको नाटकमा निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशिल दाहाल, खगेन्द्र बोहरा, पर्वती गिरी, मनिष चौलागाई, बीरेन्द्र बुढामगर, प्रदीप राई, बीमला सापकोटा, श्रीकृष्ण शाहीलगायतले अभिनय गर्नुभएको छ ।
गौतम बुद्धको जीवनी र दर्शनलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्दै सन्देश विश्वभर फैल्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राईले बताए। महोत्सवका निर्देशक रङ्गकर्मी पुस्कर गुरुङले सात नाटक चयन भएको र त्यहि अनुसार मञ्चन भईरहेको जानकारी दिनुभयो। महोत्सवमा बिहीबार वर्षा भण्डारी निर्देशित नाटक ‘पश्चाताप’ सस्मिल मगर निर्देशित ‘अम्रपाली’ मञ्चन हुँदैछ । शुक्रबार समापन अगाडी वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ ।













