सुरज र दीपिकाको स्वरमा ‘त्रिशुली मायाको’ सार्वजनिक

सङ्गीत । नेपाली लोक-दोहोरीको समकालीन शैलीमा बनेको नयाँ गीत भिडियो ‘त्रिशुली मायाको’ सार्वजनिक गरिएको छ । गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको स्वरमा सजिएको यो गीत प्रल्हाद सुवेदीको शब्द र संगीतमा तयार भएको हो । समकालीन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेखनका लागि ख्याति कमाएका गीतकार सुवेदीले यस गीतमा पनि लोक र आधुनिक शैलीको फ्यूजन गरेका छन् ।

आधुनिक जनरामा बढी सक्रिय गायक सुरज श्रेष्ठ भन्छन्, ‘मेरा लागि यो अलिक फरक जनरा हो तर यो कम्पोजिसन मीठो लागेर आवाज दिएको छु ।’ रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । सुधिरले उषालाई फर्काउन अभिव्यक्त गरेको भावलाई निर्देशक शान थापाले रोमान्टिक ढङ्गले प्रस्तुत गरेका छन् ।

बाल कलाकार अर्चीता गौतम पनि भिडियोमा देखिएकी छन् । गीतका शब्द र दृश्यले प्रेमको भाव बोकेका छन् । राजिव समरको कोरियोग्राफी, पवन सुस्लिङको छायांकन र सम्पादन रहेको यो भिडियो युट्युबमार्फत उपलब्ध छ । यो गीतले प्रेमको मीठो कथा मार्फत दर्शकलाई त्रिशुलीको किनारमा घुमाउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्