फिल्म । कोरोना भाइरस (कोभिड १९) ले गर्दा सम्पूर्ण क्षेत्र ठप्प छ । नेपालमा गत वर्षको चैत्र ११ गतदेखि गरिएको लकडाउन अझै जारी छ । संक्रमितको संख्या बढ्दै गएपछि तत्कालै हट्ने संकेत छैन । तर , मोडालिटी परिवर्तनबारे छलफल भइरहेको छ । लकडाउन हटेपनि नेपाली फिल्मनगरी माथि आउन केहि समय पक्कै लाग्नेछ ।
पछिल्लो समय सिर्जित अवस्थाले गर्दा फिल्मकर्मीमा निराशा छाएको बेला निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्म क्षेत्रलाई घुँडा टेकेर भए पनि माथि उठाउने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूहरु नआत्तिएको र अब काम सुरु हुने बताएका छन् । उनले छिटै फिल्मको काम सावधानीका साथ अगाडी बढाउने बताएका छन् ।
पछिल्लो समय निर्देशक चाम्स अहिले ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को काममा व्यस्त छन् । दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा लगायतका कलाकारहरुको अभिनय रहने फिल्मलाई उनले हलिउडको टेक्निसियनसँग मिलेर तयार गर्नेछन् ।










