फिल्म । चलचित्र पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको शाखामा अधिवेशन चलिरहेको छ । नवौं अधिवेशनलाई मध्यनजर गर्दै शाखाहरूले अधिवेशन गरिरहेका छन् । नेपाल पत्रकार महासंघको एसोशियट संस्था चलचित्र पत्रकार संघ नेपालले विधागत पत्रकरितालाई मोफसलमा विस्तार गर्न शाखा खोलिसकेको छ ।
मोफसलमा रहेर समेत विधागत पत्रकारिता अन्तर्गत चलचित्र पत्रकारिता गरिरहेका पत्रकारलाई प्रोत्साहित गर्न ‘मोफसल पत्रकारिता पुरस्कार’ ले पुरस्कृत समेत गर्ने गरेको छ । मकवानपुरबाट शाखा अधिवेशनको सुरूवात हुँदै चितवन र रुपन्देहीमा अधिवेशन भईसकेको छ । मकवानपुर शाखाको पाचौँ अधिवेशनबाट अध्यक्षमा कपिल खडका सर्वसम्मत चुनिए । उपाध्यक्ष श्रीराम अर्जुन, सचिव रविन्द्र गौतम, सहसचिव दिपेश दाहाल, कोषाध्यक्ष मनोज देवकोटा चयन हुँदा दर्शन क्षेत्री, कुन्दन प्रवेश धिताल, मन्ज मैनाली र सानु रिजाल देवकोटा सदस्यमा चुनिए ।
यस्तै, चितवन शाखामा गोविन्द अर्याल अध्यक्ष चुनिएका छन्। आठौँ अधिवेशनबाट अध्यक्षमा अर्यालसहित उपाध्यक्षमा सागर ढुगना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशील पन्त क्षेत्री चयन भएका छन् । सदस्यहरुमा भने मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा सर्वसम्मत रूपमा चयन भए ।
यस्तै, माघ ३ मा भएको रुपन्देही शाखाको अधिवेशनबाट मोहन न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा बिकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल छन् । त्यस्तैगरी, सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
शाखा अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रूपमा सहभागिता जनाईरहेका संघका संगठन उपाध्यक्ष कुवेर डंगोलले माघ १५ अगाडी नै अधिवेशन गर्नुपर्ने शाखामा नयाँ कार्यसमिति आउने बताए। ‘केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै शाखामा अधिवेशन भईरहेको छ । चलचित्र पत्रकारिता प्रति मोफसलमा देखिएको आकर्षण तारिफयोग्य छ’, उपाध्यक्ष डंगोलले बताए ।
संघको कास्की, चितवन, मकवानपुर, दाङ्ग, बाँके, रुपन्देही, पर्सा, सुनसरी जिल्ला शाखा रहेको छ भने प्रदेश नम्बर १ मा प्रदेश शाखासमेत रहेको छ । संघको सर्लाही- महोत्तरी शाखा भने हाल निस्क्रिय छ ।










