फिल्म । छ महिनामा प्रदर्शन भएको फिल्मको क्यालेन्डर हेर्ने हो भने पछिल्लो समय ‘दुई नम्बरी’ ले सफलता हात पारेको छ । गत असोज २१ बाट प्रदर्शनरत फिल्मले दर्शकको साथ विकेन्डसँगै विकडेजमा पनि पाइरहेको छ । दर्शकको मायाले उत्साहित टिमले आफ्नो व्यापारको आकडा सार्वजनिक गरेको छ । फिल्म निर्माण पक्षको अनुसार यसले प्रदर्शनको आठौँ दिन पार गर्दासम्म ४ करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको छ ।
निर्माणपक्षका अनुसार, काठमाडौं उपत्यकामा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरी २२ लाख, नेपालगञ्ज १५ लाख, दमक १५ लाख, बिर्तामोड १४ लाख, विराटनगर १२ लाख, हेटौडा १० लाख, धनगढी १० लाख, धरान ५ लाख, सुर्खेत ४ लाखको ग्रस कलेक्शन गरेको हो । अन्य विभिन्न स्टेशनबाट १५ लाख ग्रस कलेक्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले बताए ।
‘दर्शकले हामीलाई दिएको मायाले उत्साहित बनेका छौँ । फिल्मले मुनाफा कमाएपछि यसको सम्पूर्ण मेहनती हातहरूलाई त्यसको अनुभूति गराउन बोनस घोषणा गरेको हुँ’, प्रस्तुतकर्ता नेपालीले बताए । दर्शकबाट प्राप्त प्रतिक्रियाले लेखक तथा निर्देशक दीपेन्द्र लामा उत्साहित छन् । ‘हामीले पाइरहेको प्रतिक्रियालाई सकारात्मक रुपमा लिएका छौँ । धेरै संख्यामा फिल्म रमाइलो रहेको प्रतिक्रिया पाएका छौँ । हामीले बनाउन चाहेको फिल्म दर्शकसम्म पुगेको छ’, निर्देशक लामाले भने । दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको अभिनय रहेको ‘दुई नम्बरी’ले मित्रता र वन्यजन्तु संरक्षणको कथा भन्छ ।











