फिल्म । फरक कन्टेनमा काम गर्न रुचाउने निर्देशक संगीता श्रेष्ठ निर्देशित लघु फिल्म ‘आइसक्रिम’ अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’को छनोटमा परेको छ । नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुने यो महोत्सवमा फिल्म नोभेम्बर ३ मा प्रदर्शन हुँदैछ । कोरोनाका कारण भर्चुअल रुपमा आयोजना हुन लागेको महोत्सवको पहिलो दिन नै यसको प्रदर्शन हुने निर्देशक श्रेष्ठको भनाई छ ।
‘आइसक्रिम’ बाल यौन शोषणको कथामा आधारित छ । आफूले उठान गरेको बिषय संसारभर पुग्न लागेकामा संगीता खुसि छिन् । सडकमा पैसा माग्दै हिड्ने एक यूवतीको कथा फिल्म मार्फत भन्न खोजिएको संगीताले बताइन् । समाजको अध्यारो पक्षलाई समेटेर उनले यसको निर्माण गरेकी हुन् ।
अमेरिकाको ‘बेष्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, यूकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२०’मा ‘आइसक्रिम’ छनोट भैसकेको संगीताले बताइन । ९ मिनेट लामो यो लघु फिल्ममा योगिशा खत्रीले अभिनय गरेकी छिन् ।











