दर्शकले नै गर्दैछन् ‘अञ्जिला’को प्रचार, तीन दिनमा दुई करोड ग्रस

फिल्म । होलीलाई लक्षित गर्दै गत विहिबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’को तीन दिनमा दुई करोड ७ लाख ग्रस कलेक्सन गरेको छ । फिल्मका वितरण कम्पनि रीच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले तीन दिनमा गरेको व्यापार ग्रस भएको जानकारी दिएका छन् ।

‘फिल्म हेर्न हलमा आएका दर्शकका आँखा रसाएका छन्, हेर्नेले सकारात्मक प्रतिक्रिया दिदै अन्यलाई सिफारिस गर्नुभएको छ । आज आइतबार हलमा देखिएको अकुपेन्सीले यसको आगामी दिनमा झनै राम्रो हुने सङ्केत गरेको छ । फिल्मले घरेलु बजारमा राम्रो कमाइ गर्छ’, उनले भने ।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन सार्वजनिक गरेको बताए । उनले प्रदर्शनको पहिलो दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका, दोस्रो दिन शुक्रवार दर्शकको राम्रो साथ प्राप्त भएको जनाए । पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत हाउसफुल भइरहेको उनले बताए ।

नेपालको राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ मा दर्शक चाँप आइतबार पनि राम्रो देखिएपछि दर्शकलाई भेट्न निर्माण समूह हलमा पुगेका थिए । फिल्ममा कप्तान सुब्बा आफैँले अभिनय गरेकी छिन् । उनको फुटवल टेक्निकसँगै अभिनयको पनि राम्रो प्रसंसा भएको छ । उनले क्यामेरा फेस गर्नु अगाडि मण्डला नाटक घरमा अभिनय सम्बन्धी प्रशिक्षण लिएकी थिइन् ।

उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ ।

राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर खेलाडी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ भन्ने अभियान समेत अगाडि बढाएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्