फिल्म । यसवर्ष नेपाली फिल्ममा दर्शकले द्वन्द्वको कथाहरुलाई भिन्न तरिकाले हेर्न पाउनु भयो । निर्माता तथा निर्देशकले द्वन्द्वको कथालाई पर्दामा ल्याउन गरेको साहसको चर्चा पनि भयो । विशेषत यस प्रकारको फिल्ममा लगानी सुरक्षित हुने सम्भावना अन्यको तुलनामा कम हुन्छ । किनकी नेपालमा व्यसायिक सफलता पाउने फिल्महरु सम्झिने हो भने हाँस्य प्रधान विषयवस्तु बोकेको धेरैछन् । यसले दर्शक पूर्ण मनोरन्जनात्मक फिल्म चाहनुहुन्छ भन्ने प्रस्ट्याउछ ।
यसवर्षको सुरुवात देखि नै तीन माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको तीन फिल्म प्रदर्शनमा आईसकेको छ । दोख , पानीफोटो र प्रकाश । तीनै फिल्म सफल हुनसकेनन् । नयाँ पुस्ताले उक्त विषयवस्तुलाई हलसम्म पुगेर हेर्ने जाँगर देखाउनु भएन । अर्को तर्फ द्वन्द्वको समय पार गर्नु भएको पुस्ताले पनि त्यसलाई सम्झिन चाहनु भएन । किनकी तीनै फिल्मको व्यापार निकै न्यून छ ।
कलात्मक फिल्म हेर्ने दर्शकहरु समेत नआउँदा यसकिसिमको कथालाई ठुलोपर्दामा अब देख्न मुस्किल पर्नेछ । ‘कालोपोथी’ फिल्मले पाएको सफलताले फिल्मकर्मीलाई द्वन्द्वको परिवेशमा कथा भन्न उत्साहित गरेको हो। तर, बजार अझैँ अन्य फिल्मको तुलनामा कमजोर हुँदा लगानी पनि उठ्न सकेन । गएको असार पहिलोसाता प्रदर्शनमा आएको फिल्म ‘दोख’ झन्डै सात वर्षको मेहनत पश्चात हलसम्म आईपुगेको थियो । भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण प्रोडक्सनमा बढी समय खर्चिएको भएता पनि दर्शकले रुचाउनु भएन । दर्शकको साथ् नपाउँदा सात दिन हलमा रहन मुस्किल पर्यो । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको ‘दोख’ लाई अनुप बरालले निर्देशन गर्नु भएको छ ।द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाइएको छ।
निर्माणमा लामो समय लागेको भएर पनि दर्शक फिल्मसँग जोडिन सक्नु भएन । हलसम्म आइपुग्नु भएका केहीले यसलाई राम्रो भनेता पनि व्यसायिक रुपमा घाटा भयो । यसले हलमा प्रदर्शन भएवापत पाउने सेयर निकै न्यून छ । निर्देशक बराल यसकिसिमको फिल्ममा दृश्य भाषा , कथ्य शैली रेगुलर झैँ नहुने बताउनु हुन्छ । तर उहाँ असफलता भने स्वीकार्नु हुन्छ । उहाँकै अभिनय रहेको ‘पानीफोटो’ पनि असफल रह्यो ।
द्वन्द्वकालमा हराएको छोराको खोजीमा रहेको बुवाआमाको कथा फिल्ममा देखाइएको छ । यसलाई अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गर्नु भएको हो । कोरोना भाइरसको महामारीले गर्दा भएको लकडाउनले यसलाई केहि सर गर्यो । बुढेसकालमाको सहारा वेपत्ता हुँदा परिवारले भोग्ने भोगाईलाई यसमा प्रस्तुत गरिएको छ । ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको सोही नामको चर्चित नाटक कै अनुरुपण गरिएको फिल्म हो ।
यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्नु भएका लामिछानेलाई पहिलो प्रयाशमै असफलता प्राप्त भयो । उहाँले आफ्नो भोगाईबाट यसको कथा तयार गर्नु भएको थियो । ‘मेरो मामा पनि बेपत्ता हुनुभएको अझैँ फर्किनु भएको छैन । उहाँको पर्खाईमा मेरो हजुरआमा टोलाईरहनु हुन्थ्यो । यस्तै अन्य कथा पनि सुनेपछि मन्चन गरेको नाटकलाई फिल्म मार्फत धेरै दर्शकसम्म पुर्याउन चाहन्थे । यद्दपि सफलता प्राप्त भएन’ निर्देशक लामिछानेले भन्नुभयो । उहाँ आउँदो समयमा लेखन तथा निर्माण शैलीमै आफूलाई परिवर्तन समेत गर्ने सोचमा हुनहुन्छ ।
माओवादीको तर्फबाट युद्ध लडेर शहिद हुनुभएको व्यक्तिको परिवारको कथा ‘प्रकाश’ मा देखाइएको छ । वर्गीय विभेद , भ्रष्टाचार , बेथिति अन्त्य गर्न युद्ध लड्दा शहिद हुनुभएको कमरेडको छोरा प्रकाशले भोगिरहेको विभेद , शिक्षक बन्न गरेको संघर्षको कथा फिल्ममा छ । अघिल्लो दुई फिल्मको तुलनामा यसले व्यसायिक रुपमा सुखद व्यापार गरेता पनि असफल नै रह्यो ।
स्टारडमको छायाँलाई हटाएर कलाकारिता देखाउन प्रयत्न गर्नुभएको प्रदीप खड्का सफल हुनसक्नु भएन । उहाँलाई हेर्न हलसम्म आइपुग्ने दर्शकको कम हुनुभयो । उल्लेखित तीन फिल्मको असफलताले दर्शकले द्वन्द्वको कथालाई हेर्न नचाहेको प्रस्ट्याएको छ । ‘प्रकाश’ ले अन्य दुई भन्दा तुलनात्मक रुपमा हलसँगै डिजिटल राइट्स , विदेश राइट्सबाट लगानीको केही प्रतिशत फिर्ता ल्याउन सफल भएता पनि पानीफोटो र दोखको अवस्था नाजुक छ ।
तीनै फिल्मको असफलतालाई लेखक प्रदीप भारद्वाज दर्शकको टेस्ट बदलिएको बताउनुहुन्छ । ‘दर्शक अब पुनः त्यहिँ समयलाई हेर्न चाहनुहुन्न त्यसैले हलसम्म आउनु भएन । हामीले अब मनोरन्जनात्मक फिल्महरू निर्माण गर्नुपर्छ’ उहाँले भन्नुभयो । द्वन्द्वको कथाहरु पर्दामा असफल भएता पनि आउँदो समयमा यी फिल्महरूले वितेको कालखण्डलाई संग्रहित गरेर नयाँ पुस्ताको लागि दस्तावेजको काम गर्ने विश्वास निर्माता तथा निर्देशकमा छ ।










