फिल्म । बलिउड अभिनेता सलमान खानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग भर्चुअल संवाद गरेका छन् । आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको ‘दबङ रिलोडेड टुर’ को शिलशिलामा भएको भर्चुअल संवादमा फिल्मी र पर्यटन मिश्रित गफगाफ भएका छन् । झन्डै ७ मिनेट भएको गफगाफमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।
‘म र तपाइँको नेपाली फ्यान तपाईलाई नेपालमा स्वागत गर्न तयार छौँ । म व्यक्तिगत पनि तपाइको फ्यान हुँ’ मन्त्री आलेले सलमानलाई भने । उनले सलमानको डेब्यु फिल्म विवी होतो अईसी र मैने प्यार किया मुम्बईमै हेरेको सम्झिए । ‘मेरो बुवा मुम्बई स्थित रेल्वेमा काम गर्ने भएकाले मैले तपाइको फिल्म सन् १९८८ मा त्यहिँ हेरेको हुँ’ मन्त्री आलेले भने ,’तपाइको तेरेनाम पनि मलाइ मन परेको फिल्म हो ।’
मन्त्रीले सलमानसँग गफ्फिदै भने ,’नेपालमा सबैले कोभिडको तेस्रो डोज लगाई सकेका छन् । तपाइँको कार्यक्रमले नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्छ ।’ उनले सलमानलाई नेपालमा टिभी शो र फिल्म छायांकन गर्न समेत निम्ता दिए । सलमानले आफ्नो फिल्मको कथावस्तु नेपालसँग जोडीए अवश्य छायांकनको लागि सोच्ने बताए । ‘म नेपाल आउन आतुर छु । त्यहाँ छायांकन हुने अवस्था आए अवश्य आउछु । नेपाल नआएको लामो समय भयो’ सलमानले भने ।
कुराकानीको क्रममा उनले नेपाल आएको सम्झिए । ‘म धेरै पहिला नेपाल आएको थिए । त्यहाँ बुलन्द नामक फिल्म छायांकन भएको थियो । पछि त्यो फिल्म रिलिज नै भएन । त्यसपछि नेपाल आउने तारतम्य नै मिलेन’ सलमानले भने । यद्दपी उनि केहि समय यता आफ्नो कन्सर्ट ‘द दबंग टुर रिलोडेड’ लिएर नेपाल आउने तयारीमा छन् । यद्दपी कार्यक्रम हुन् सकेको छैन । उनले कोभिडको जटिल अवस्थाबाट निस्किएकोले खुसी र मनोरञ्जन बाड्न चाहेको प्रतिक्रिया दिए ।
मन्त्री आलेले ७ मिनेटको समयमा पर्यटन, फिल्मीसँगै नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश समेत दिएका छन् ।‘कोभिड पश्चात हामी तपाईंको कार्यक्रम पश्चात नै पर्यटन प्रवर्द्धन हुनेमा विश्वस्त छु’ मन्त्री आलेले भने । उनले सलमानलाई सगरमाथालाई माउन्टेन फ्लाइट मार्फत अवलोकन गर्न र एभेरेष्टमा ब्रेक फास्ट गर्न आग्रह गरे । ‘तपाईंको समय मिलाउनु भयो भने म तपाईंलाई विश्वकै अग्लो शिखर सगरमाथा फ्लाइट मार्फत घुमाएर त्यहाँ खाजा खुवाउन चाहन्छु’ मन्त्री आलेले प्रस्ताव गरे ।
मन्त्री आलेको प्रस्तावमा सलमानले सहमति जनाउँदै ‘हुन्छ’ भने । साथै, मन्त्री आलेले नेपाल सुन्दर देश रहेको भन्दै सलमानलाई आफ्नो शो , म्युजिक भिडियो तथा फिल्म छायांकन गर्न पनि आग्रह गरे । जवाफमा सलमानले पनि फिल्मको डिमाण्ड भएमा आफूले त्यो गर्ने बताए । ‘तपाईंले निम्तो दिनु भएको छ । मैंले गर्ने फिल्मको संयोग मिलेमा अवश्य म त्यहाँ छायांकन गर्नेछु’ सलमानले भने । उनले नेपाल आएर खुसि बाड्न र मनोरञ्जन दिन आफू आतुर रहेको बताए । सलमानले गरेको सात मिनेटको भर्चुअल संवादमा मन्त्री आलेले ‘फिल्मसँगै पर्यटन प्रवर्द्धन ’बारे छलफल गरे ।
‘दबङ रिलोडेड टुर’ मा सलमानसँगै सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज, प्रभु देवा, गुरू रान्ध्वा, आयुष शर्मा, मनिष पौल लगायतका भारतीय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । त्यसअघि झन्डै डेढ घण्टाको समयमा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने ओडीसी इन्टरटेनमेन्टका प्रवन्धक निर्देशक सिमान्त गुरुङले बताए । अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ सिमान्तसँगै तेन्जिङ सिमिजु, राजिभ श्रेष्ठ, रबिन गुरुङ लगायतका व्यवसायीको सहकार्यमा हुन लागेको हो । यसअघि पनि ओडीसीले क्यानेडियन पप गायक ब्रायन एडम्स, डेनिस ब्याण्ड एमएलटीआर, गायक आतिफ असलमलाई नेपाल ल्याएर कन्सर्ट गरिसकेको छ । ओडीसीका प्रवन्धक निर्देशक गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजारको टिकेट रहेको छ ।










