फिल्म । निर्देशक अशोक शर्माले महाशिवरात्रिको अवसर पारेर नयाँ फिल्म ‘डबल ट्रिपल’ घोषणा गरेका छन् । शर्माको यो नवौं निर्देशकीय फिचर हुनेछ । फिल्मबारे जानकारी दिँदै शर्माले मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ हुने बताएका छन् । उक्त पोस्टमा शर्माले शीर्षक र कलाकारबारे जानकारी गराएका छन् ।
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सनविक्रम राई, उदय सुब्बा, राजाराम पौडेल लगायतको अभिनय हुने जनाइएको छ । शर्मा र राजेश सिटौलाको पटकथा लेखन रहने फिल्मको संगीतकारमा शम्भुजीत बासकोटा छन् । आलोक शुक्लाको छायांकन, मनोज पण्डितको स्क्रिप्ट डक्टरिङ, शान बस्न्त्याको संवाद, राजु किराँतीको एक्सन र सुनिल क्षेत्रीको नृत्य हुनेछ ।
किरण शर्मा पौडेल, अंकित शर्मा र कीर्ति शर्मालाई निर्माताको रुपमा चिनाइएको छ । यसअघि उनले सीता, गरिब, निर्णय, अल्लारे, मिस्टर रामकृष्णे, यो मायाको सागर, जय भोले र रातो टीका निधारमा निर्देशन गरेका छन् । उनको पछिल्लो फिचर ‘रातो टीका निधारमा’ सन् २०१९ मा रिलिज भएको थियो ।











