फिल्म । फिल्म ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ को छायांकन पाँच दिनको ब्रेकपछि पुनः सुरु भएको छ । असोज २७ गतेबाट छायांकन सुरु भएको यो फिल्म हिमपात र लगातारको वर्षाका कारण रोकिएको थियो । हिमपात र वर्षाले छायांकन गर्ने वातावरण नभएपछि सुटिङ युनिट मुस्ताङबाट काठमाडौं फर्किएको थियो ।
कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार सोमबार मुस्ताङबाट फिल्मको छायांकन पुनः सुरु भएको हो । छायांकनको कुल सेड्युल ३५ दिन रहेको उनले जानकारी दिए। मुस्ताङको छायांकनपछि बाँकी काम काठमाडौंमा गरिनेछ ।
फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरिरहेका छन् र उनी यसका निर्माता पनि हुन्। मणिराम पोखरेल कार्यकारी निर्माता छन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपीन कार्की र मिस यूके नेपाल-२०१७ सिर्जना गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । विपीन कार्की र सिर्जना गुरुङ यस सिरिजमा प्रवेश गर्ने नयाँ कलाकार हुन्, भने बाँकी सबै अघिल्ला सिरिजका कलाकार छन् ।









