फिल्म । आउँदो वर्षको पहिलो दिन अर्थात २०७९ वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को गीत सार्वजनिक भएको छ । केहि समय अगाडी टाइटल ट्रयाक सार्वजनिक गरेको फिल्म युनिटले यसपटक पनि गीतलाई नै दर्शक माँझ ल्याएको छ । पछिल्लो समय नेपाली फिल्मीका अभिनेतासँग जोडिएर आएको घटनाका कारण प्रचारप्रसारमा ढिलाई गरिरहेको टीमले लोकशैलीको गीत सार्वजनिक गरेको छ । सार्वजनिक ‘सुन्तला’ बोलको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । वसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन् ।
सार्वजनिक गीतमा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अनमोल केहि खुलेका छन् । अघिल्ला गीतहरुको तुलनामा अनमोलले नृत्यमा सुधार गरेका छन् । लोक लयको गीतमा उनको नृत्य हेरेपछि धेरै प्रसंसा गरिरहेका छन् । गीतमा सुहानाको पहिले झैँ सुन्दरतासँगै अभिनय पनि देखिएको छ । झरना थापा निर्देशित फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । झरना थापाको कथा रहेको फिल्ममा पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।












