फिल्म । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन् । पछिल्लो महाधिवेशनमा नेत्री कुन्ति शाहीसँगको प्रतिष्पर्धामा थापा राप्रपाको महामन्त्री पदमा पराजित बनेकी थिइन् । अध्यक्ष राजेन्द्र लिङ्देनले थापासहित १४ जना महिलालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘१४ जनामध्ये एक अभिनेत्री रेखा थापा पनि हुन् ।’ अभिनेत्री थापासँगै लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा मनोनीत भएका हुन् ।






